काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले कुनै पनि आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्नु र घाटा हुनु हो भनेका छन्।
लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तरक्रियामा अर्थमन्त्री शर्माले आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्नु र घाटा हुनु हो भन्दै आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरेका हुन्।
मन्त्री शर्माले भने, ‘प्रोजेक्टको समय बित्नु भनेको हाम्रो लगानी बढ्नु हो। अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो। व्यवसायिक रूपले हेर्ने हो भने पनि समय बिलकुलै लम्ब्याउनु हुँदैन। मुख्य पूँजी भनेकै समय हो।’
उनले मन्त्रालयमा कुनै आयोजनाको फाइल अड्किएको भए त्यस्तो समस्या पनि समयमै जानकारी गराउन आग्रह गरे। मन्त्री शर्माले भने, ‘एउटा आयोजनाको फाइल डेढ महीनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो। यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला। यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ।’
नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासन समेत दिए।