काठमाडौँ । सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको जिरोङ (केरुङ) काउन्टीमा नदी थुनिएर बनेको ताल लगभग रित्तिसकेको छ। आइतबार चीनको जलस्रोत मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै उक्त ताल रित्तिएको जानकारी गराएको हो ।
यद्यपि उक्त तालमा मिसिने नेपाली नदीमा पानीको बहावले बनाएको एउटा गहिरो खाल्डो र तल्लो तटीय क्षेत्रका तीनवटा जलमग्न इलाकामा अझै ठूलो जोखिम रहेको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार ड्रोन फुटेज, प्यानोरामिक तस्बिर र अग्रपङ्क्तिमा खटिएको आपतकालीन टोलीको प्रतिवेदनमा आधारित पछिल्लो मूल्याङ्कनले चीनको पुरेपु साङ्पो नदीमा थुनिएर बनेको ताल लगभग खाली भइसकेको र नदीको बहाव सामान्य रूपमा अघि बढिरहेको देखाएको छ।
तर, पुरेपु साङ्पो नदीमा मिसिने छोचेन खोलामा अझै पनि ठुलो जोखिम कायमै रहेको कुरामा मन्त्रालयले जोड दिएको छ।
तालबाट करिब ५.६ किलोमिटर माथितिर रहेको नेपाली नदीको उक्त खाल्डोमा अझै पनि करिब १४ लाख घनमिटर पानी जम्मा भएर बसेको मन्त्रालयले जनाएको छ। उक्त खाल्डो थुनिएर बनेको तालभन्दा करिब ८०० मिटर उचाइमा छ।