धनकुटा । निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धिले निर्माण व्यवसायी आर्थिक संकटमा परेको भन्दै व्यवसायीहरुले ठेक्का सम्झौताअनुसारको लागतमा काम सम्पन्न गर्न कठिन भएको बताएका छन्।
नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८औं साधारणसभा तथा ११औं अधिवेशनमा व्यवसायीहरुले सिमेन्ट, छड, गिट्टी, बालुवा, इन्धन, ढुवानी तथा श्रमिकको ज्यालालगायतको मूल्य बढेकाले आयोजनाको लागत उल्लेख्य बढेको भन्दै मूल्य समायोजनको प्रभावकारी व्यवस्था गर्न माग गरेका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय नीतिगत उपमहासचिव मंगलबहादुर शाहीले संघीय आयोजनामा भुक्तानीको समस्या केही कम भए पनि प्रदेश र स्थानीय तहका आयोजनामा अझै समस्या रहेको बताए। निर्माण सम्पन्न गरेपछि पनि लामो समय भुक्तानी नपाउँदा व्यवसायीको आर्थिक अवस्था कमजोर बन्दै गएको उनको भनाइ छ।
संघका अध्यक्ष प्रकाश थुलुङले समयमै भुक्तानी नहुँदा बैंकको ब्याज, श्रमिकको पारिश्रमिक र निर्माण सामग्रीको रकम तिर्न समस्या भइरहेको बताए। बजेट सुनिश्चित गरेर मात्र ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने उनको माग छ।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले निर्माण व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए। उनका अनुसार प्रदेशमा निर्माणाधीन तथा सम्पन्न आयोजनाको करिब ५३ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। उनले मन्त्रिपरिषद्मा छलफल गरी भुक्तानी प्रक्रिया अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाए।
अधिवेशनले आगामी तीन वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ।