काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको बाढीले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले देखाएको छ।
प्रतिवेदनअनुसार बाढीबाट १ हजार ६६९ हेक्टर धान खेती प्रभावित हुँदा ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै, १३७ हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब १ हजार ८४३ टन तरकारीमा क्षति भएको छ।
नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको छ। विदुरमा मात्रै ७०० हेक्टर धान खेती प्रभावित हुँदा २ हजार ४५० टन धान र ९८ हेक्टर तरकारी क्षेत्रमा क्षति पुगेको छ।
बाढीबाट पशुपन्छी क्षेत्रमा पनि ठूलो क्षति भएको छ। कुल २ लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित हुँदा करिब १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। पशुधनतर्फ भैँसी, बाख्रा÷च्याङ्ग्रा र गाईगोरुमा सबैभन्दा ठूलो आर्थिक क्षति पुगेको छ।