काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीले धादिङ, गोरखा, नुवाकोट र रसुवामा १०५ वटा पुलमा क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार ३७ वटा मोटरेबल र ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको हो।
बाढीबाट पुलमा मात्रै ११ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। मोटरेबल पुलतर्फ ३७ मध्ये ३३ वटा पूर्णरूपमा बगेका छन् भने चारवटामा आंशिक क्षति पुगेको छ।
सबैभन्दा बढी नुवाकोटमा १५ वटा मोटरेबल पुलमा क्षति पुगेको छ। त्यसमध्ये १४ वटा बगेका छन्। रसुवामा १३, धादिङमा ८ र गोरखामा एउटा मोटरेबल पुलमा क्षति पुगेको छ।
त्यस्तै, बाढीले ६८ वटा झोलुंगे पुलमा क्षति पुर्याएको छ। क्षतिग्रस्त पुलको पुनर्स्थापनाका लागि १८ अर्ब १६ करोड रुपैयाँभन्दा बढी लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।