काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपालसहित प्रतिवादी रहेको पतञ्जलि जग्गा हिनामिना प्रकरणको भ्रष्टाचार मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासमा मुद्दाको पेसी तोकिएको छ।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
यसअघि अदालतले नेपाल नेतृत्वको मन्त्रिपरिषद्का तत्कालीन मन्त्री डा। मीनेन्द्र रिजालसहित आठ जनालाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको थियो। पूर्वमन्त्रीहरू मृगेन्द्रसिंह यादव, रकम चेम्जोङ, उमाकान्त चौधरी र महेन्द्रप्रसाद यादवसहित अख्तियारमा कागज गर्ने पदमराज भट्ट र जगन्नाथ पन्तलाई पनि उपस्थित हुन भनिएको थियो।
अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा बिक्री तथा सट्टापट्टा गरिएको आरोपमा मुद्दा दायर गरिएको हो।