काठमाडौं । सार्वजनिक खरिद गर्न प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली (e-GP System) मा सुरक्षा जोखिम उच्च देखिएपछि तत्कालका लागि प्रणाली बन्द गरिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै प्रणाली मर्मत तथा सुधार गरी यथाशीघ्र सञ्चालनमा ल्याउने जनाएको छ। प्रणाली पुनः सञ्चालन नभएसम्म सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४८ को उपनियम (२) बमोजिम बोलपत्र कागजात प्राप्त गर्ने व्यवस्था गरिएको छ।
कार्यालयका अनुसार बोलपत्रदाताले नमुना बोलपत्र कागजातको ‘Section I Instruction to Bidders’ मा उल्लेखित व्यवस्था पालना गर्नुपर्नेछ। बोलपत्र हुलाकमार्फत, आफैं वा आधिकारिक प्रतिनिधिमार्फत कार्यालयमा बुझाउन सकिनेछ।
त्यस्तै, बोलपत्र कार्यालयमा दर्ता गराउँदा खाममा ‘बोलपत्र’ उल्लेख गरी कानुनबमोजिम तोकिएको समयभित्र कार्यालयमा दाखिला गर्न सकिने सूचनामा उल्लेख छ। कार्यालयले प्रणाली सञ्चालनमा नआएसम्मका लागि वैकल्पिक व्यवस्था गरिएको जनाएको छ।