काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गतका १९१ सवारीसाधनमा क्षति पुगेको छ।
महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बाढीमा देशभरका नौ कम्पनीका बस, ट्रक, कन्टेनर, टिपरलगायत सवारीसाधनमा क्षति पुगेको हो। ती सवारीसाधनका चालक, सहचालक र यात्रुसहित ३४४ जना बेपत्ता भएका छन्।
महासंघका अनुसार नेपाल अरनिको यातायातका २६ सवारीसाधनमा क्षति हुँदा ५० जना, नमस्ते पासाङ ल्हामु यातायातका १९ बसमा क्षति हुँदा २१ जना र हिमालयन यातायातका २१ सवारीसाधनमा क्षति हुँदा १० जना बेपत्ता भएका छन्।
त्यस्तै, नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका ५३ सवारीसाधनमा क्षति हुँदा ४५ जना, नारायणी यातायातका ५९ ट्रक तथा कन्टेनरमा क्षति हुँदा ७० जना र धादिङ मण्डली यातायातको एक बसमा क्षति हुँदा २६ जना बेपत्ता भएको महासंघले जनाएको छ।