काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफैँ बसभित्र बसेर आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले सोमबार बसमा आगजनी गरेका हुन्।
प्रहरीका अनुसार आगजनीका बेला बसमा कुनै यात्रु थिएनन्। चालकले बसभित्रैबाट आगो लगाएपछि केहीबेरमै बस ह्वारह्वार्ती जलेको थियो। घटनापछि दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
आफैँले लगाएको आगोमा परी घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।
बसमा आगो लगाउनुको कारण खुलिसकेको छैन। ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर उनले आगजनी गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिएका छन्।