काठमाडौं। एमएस समूहको चार तारे होटल मोक्सी मेरियटको निर्माण सुरु भएको छ। कोभिड संक्रमण घटेपछि उक्त समूहले होटल निर्माण थालेको हो। डेढ वर्ष अघि निर्माण थाल्ने भनिएको होटल मोक्सी मेरियट कोभिडका कारण रोकिएको थियो। तर हाल कोभिड महामारी घट्दै गएपछि होटल निर्माण कार्यलाई अघि बढाइएको छ।
१ अर्ब रुपैयाँ लागतमा निर्माण हुने सो होटल तीन वर्ष भित्रै संचालनमा ल्याउने होटल निर्माण समुहको योजना रहेको छ। हाल होटलको बेसमेन्ट निर्माण भइरहेको छ। मोक्सी मेरियट अन्तर्गत मोक्सी ब्राण्डमा आधारित छ। यो होटलमा विशेषगरी युवा पर्यटकले पूर्ण मनोरञ्जन लिन सक्ने होटल संचालकको भनाइ छ।
आन्तरिक र बाह्य युवा पर्यटकलाई मध्यनजर गर्दै मोक्सी ब्राण्ड संचालनमा ल्याउन लागिएको उनले जानकारी दिएका छन्। दुई रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको उक्त होटलको डिजाइन स्पेनी आर्किटेक्टले तयार पारेका छन्।
चारतारे स्तरको होटलमा एक सयवटा कोठा रहनुका साथै क्याफेटेरिया, बार, स्वीमिङ पुल, हेल्थ क्लब लगायतका सुविधा हुनेछन्। यसैगगरी सो होटलमा नेपाली संस्कृति झल्कने किसिमका आवरण र सजावट पनि हुनेछ। स्वतन्त्र अनुभव र लक्जरियस बसाइँलाई प्राथमिकता दिइने उक्त होटल स्थानीयसँगै ठमेल र दरबारमार्गमा आउने पर्यटकलाई प्राथमिकता दिइएर निर्माण गर्न लागिएको हो।