काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) की अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ। एआईआईबीको ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउसँग भेट गरेका हुन्।
भेटमा वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण र सहुलियतपूर्ण वित्तीय पहुँच बढाउन आग्रह गरे। उनले हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारमा लगानी बढाउन पनि आग्रह गरेका छन्।
अध्यक्ष जोउले भोटेकोशी बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने र त्यसमार्फत नेपाललाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन सकिने बताइन्।
वाग्लेले एआईआईबीको सहयोगमा सञ्चालित विद्युत् वितरण सुधार तथा एक्सप्रेस सडक आयोजनाको अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गर्दै अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणको निम्तोसमेत दिए।