काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी काम समयमै सक्न निर्देशन दिएकी छन्।
मन्त्रालयमा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले कुनै पनि बाहाना नबनाइ तोकिएकै समयमा काम सक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी हुन्।
उनले नीतिगत र कानुनी समस्या भएमा समाधानका लागि जानकारी गराउन समेत निर्देशन दिएकी छन्। मन्त्री श्रेष्ठले भनिन्, ‘यो वा त्यो बहाना देखाएर काम पन्छाउन वा भाग्न पाइँदैन। भूमि सम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजना अनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्नुपर्छ।’
बैठकमा राष्ट्रिय भूमि आयोगको हालसम्मको प्रगति समीक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएको थियो।
छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारीताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताए । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगले पूर्णता पाएको दिन देखिनै प्रभावकारी रूपमा काम गर्दै आएको बताए।