काठमाडौं। एमाले नेता भीम रावलले नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेन्ट सञ्चालनको अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत नेता रावलले ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार संग्राहलयको जग्गामा व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार भएको बताएका हुन्।
उनले लेखेका छन्, ‘नारायणहिटी जस्तो ऐतिहासिक–सांस्कृतिक महत्वको सम्पदाको संरक्षण गर्नुको साँटो विदेशीलाई व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार हो।’
उनले ऐतिहासिक सम्पदालाई व्यापारिक प्रयोजनाका लागि अनुमति दिने जस्तो देशप्रतिको गैरजिम्मेवार सम्झौता रद्द गर्न समेत माग गरेका छन्।
नारायणहिटीको करिब १० रोपनी जग्गा रेष्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा दिइएको विषय सार्वजनिक भएपछि रावलले आपत्ति जनाएका हुन्।
निर्माणाधीन रेष्टुरेन्टका लागि आवश्यक संरचना निर्माणसम्बन्धी नक्सापास तथा स्थलगत नापजाँचसमेत नगरी निर्माण कार्य भइरहेको भनि यत्रतत्र विरोध भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा रेष्टुरेन्ट बनाउन रोक लगाइएको छ।