काठमाडौं। तनहुँमा महिला कारागार बन्ने भएको छ। महिला कारागार बन्ने भएपछि बन्दीगृहमा राख्नुपर्ने महिलालाई पोखरा पठाउनुपर्ने बाध्यता हट्ने भएको हो।
यसअघि पनि महिला बन्दीगृह निर्माण गरिएको भए पनि पुरुष कैदीबन्दी त्यहाँ राखिएपछि पोखरा पठाउनुपर्ने बाध्यता थियो। कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र घेरबार गरी महिला बन्दीगृह निर्माण तीब्र रुपमा भइरहेको तनहुँ कारागारले जनाएको छ।
महिला बन्दीगृह निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। पुसमा निर्माण पूरा गरी माघ महिनादेखि बन्दीगृह सञ्चालन गर्ने तयारी भइरहेको छ। कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाउन लागिएको हो।
एन्जल कन्स्ट्रक्शनले महिला बन्दीगृह निर्माणको जिम्मा पाएको छ। २० जना क्षमताको महिला बन्दीगृह माघदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
‘कारागारको सवारी साधन नहुँदा महिलालाई बन्दीगृहबाट अदालत लैजान तथा टाढा हुँदा आफन्त तथा परिवारजनलाई भेटघाटका लागि समस्या परेको थियो, अब सहज हुनेभएको छ।
कारागारका अनुसार वार्षिक रुपमा १५ जना महिलालाई जिल्लामा महिला बन्दीगृह नहुँदा बाहिर पठाउनुपर्ने बाध्यता थियो। महिला बन्दीगृह निर्माण गरिएको भए पनि पुरुष कैदीबन्दी धेरै हुँदा त्यस ठाउँमा पुरुष राखिएको र हाल पुरानो कार्यालय भवन र सुरक्षा व्यारेकमा महिला बन्दीगृह निर्माण गरिएको छ।