पाँचथर। पूर्वमन्त्री एवं नेकपा एमालेका नेता वसन्तकुमार नेम्वाङले वर्तमान सरकार गठन भएदेखि देशमा विकास निर्माणले गति नलिएको आरोप लगाएका छन्।
पाँचथरको याङवरक गाउँपालिका–५ को वडा कार्यालय भवनमा आयोजित कार्यक्रममा नेता नेम्वाङले वर्तमान सरकारको गठनदेखि विकास निर्माणका कामले गति लिन नसक्दा आशंका बढेको बताएका हुन्।
उनले एमालेको चिन्ता र चासो जनतालाई सुख सुविधा हुने र समृद्धिका काम नरोकिउन भन्ने मात्रै रहेको दाबी गरे।
उनले भने, ‘जनताका सुख र समृद्धिका लागि सुरुआत भएका काम, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका कुरा, गाउँगाउँ पुगेको विद्युत, चार हजार पुगेको सामाजिक सुरक्षा भत्ता, ठूला विकासका पूर्वाधार पूरा होलान् कि नहोलान् भन्ने आशंका देखिएको छ।’
नेम्वाङले आफूहरुले जनताका लागि गरेका विकास योजना ओझेलमा त पदैनन् ? भन्ने चिन्ता लागेको समेत बताए।
तर जनताको विकास र समृद्धिका चाहनाअनुसार सुरुआत भएका कामको निरन्तरताका लागि एमालेले खवरदारी गरिरहने नेम्वाङले बताए। नेम्वाङले भने, ‘कालोपत्रे सुरुआत भएका सडकको काम नरोकियोस्। गाउँ–गाउँमा टाँगिएका तारमा विद्युत जोडियोस्।’