बैतडी। बैतडीको डिलासैनी गाउँपालिकामा निर्माणाधीन स्वास्थ्य चौकीको काम रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई पत्र लेख्दै मन्त्रालयले डिलासैनी–७ मा निर्माण भइरहेको स्वास्थ्य चौकीको काम रोक्न निर्देशन दिएको हो।
सरकारको यसअघि एक स्थानीय तह एक आधारभूत अस्पताल निर्माण गर्ने नीति अुनसार डिलासैनी स्वास्थ्य चौकीको स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको थियो। डिलासैनी स्वास्थ्य चौकी पालिकाको वडा नम्बर ७ धामीगाउँमा रहेको छ।
तर नेकपा एमाले जिल्ला अध्यक्ष सुरन्द्र पाल समेतको प्रत्यक्ष हस्तक्षेपमा सोही वडाको बनगाउँमा अस्पताल निर्माणको काम थालिएको स्थानीयले आरोप लगाएका थिए।
संघीय सरकारबाट प्रत्यक्ष निर्देशित भएर बजेट समेत विनियोजन भएको अवस्थामा अपायक स्थानमा निर्माणको काम शुरु भएको उनीहरुको आरोप थियो। उनीहरुले मन्त्रालयमा गुनासो पुर्याएपछि मन्त्रालयले तोकिएकै स्थानमा निर्माण गर्नुपर्ने र तोकिएको स्थानमा अस्पताल निर्माण गर्न यदि प्राविधि वा अन्य उचित कारणले निर्माण गर्न नसक्ने भए मात्र पालिकाको निर्णय र जिल्ला समन्वयन समितिको सिफारिसमा नेपाल सरकारको स्वीकृति लिएर मात्र स्थान परिवर्तन हुन सक्ने बताएको छ।
मन्त्रालयले पत्रमा भनेको छ, ‘डिलासैनी गाउँपालिकाबाट तोकिएको स्थानमा अस्पताल निर्माण गर्ने सम्भावना हुँदा हुँदै पनि सरकारको स्वीकृति नलिइ अन्यत्र अस्पताल निर्माणको काम अघि बढाइरहेको हुँदा मन्त्रालयबाट तोकिएकै स्थान डिलासैनी स्वास्थ्य चौकीमा अस्पताल निर्माण गर्न माग गरि त्यहाँ पालिका ५ वटा वडाका अध्यक्षहरुले समेत उजुरी दिएको हुँदा यो विषयमा यथाशाक्य चाँडो मन्त्रालयमा पठाउन हुन र मन्त्रालयबाट अर्को निर्णय नभएसम्म अस्पताल निर्माणको काम यथावस्थामा राख्नहुन समेत अनुरोध छ।’