भक्तपुर। पुल निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीलाई चाँगुनारायण नगरपालिका–३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले वडा कार्यालयमा थुनिदिएका छन्।
विगत तीन महिनादेखि विभिन्न बाहाना बनाउँदै काम अलपत्र पारेपछि वडाध्यक्ष धिमालले एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रोजेक्ट म्यानेजर रवीन जिरेलसहित निर्माण व्यवसायीको टोलीलाई नै कार्यालयमा थुनिदिएका हुन्।
लामो समय काम अलपत्र पारेर फेरि पुल निर्माणमा अवरोध आएकाले म्याद थप गर्ने आवेदन लिएर उनीहरु वडा कार्यालय गएका थिए। वडाध्यक्ष धिमालले उनीहरुलाई हिजो दिनभरी कार्यकक्षमा थुनेर राखेका हुन्।
पूर्वाधार विकास कार्यालय बागती प्रदेशअन्तर्गत झौखेल कवाँसे खोला सडक पुल बनाउने जिम्मेवारी पाएको एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सले विभिन्न बहाना बनाउँदै निर्माण सम्पन्न नगरी अलपत्र पारेको वडाध्यक्ष धिमालको आरोप छ।
उनले भने, ‘पुल निर्माण तीन महिना अगाडिदेखि अलपत्र पारेर स्थानीयवासीलाई आवतजावतमा समेत कठिन पार्ने अनि पुल निर्माण सम्पन्न नगरी उल्टै पुल बनाउन स्थानीयवासीले अवरोध गरे भन्दै निवेदन लिएर आएका थिए, मैले विकासमा अवरोध गर्ने को हो मान्छे भन्नुस् भन्दा भन्न सकेनन्, त्यहाँ कसैले अवरोध गरेका पनि छैनन्, त्यसैले मैले कार्यालय कक्षबाट बाहिर जान नदिएर कार्यकक्षमै थुनेर राखेको हुँ।’
निर्माण व्यवसायीले लापरवाही र ढिलासुस्ती गर्ने अनि स्थानीयवासीलाई दोष दिने प्रवृत्ति गलत भएको भन्दै यसबारेमा जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई समेत जानकारी गराएको उनले बताए।