खोटाङ। नेकपा एकीकृत समाजवादी खोटाङले जिल्लामा भएका विकास योजनाको अनुगमन गर्ने भएको छ।
एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले स्थानीय, प्रदेश र संघीय सरकारबाट विनियोजित बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो।
अनुगमनका लागि विवरण संकलन गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन दिइएको पार्टीले जनाएको छ। अनुगमनमा पाइएका विवरण माघ– १५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउन नगर वा गाउँपालिका कार्यसमितिलाई भनिएको बताइएको छ।
अनुगमनका क्रममा बजेटको अंक, उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण कम्पनीको नाम, काम सम्पन्न भएको मात्रा, लाभान्वित घरधुरी संख्या, योजनादाता वा सम्बन्धित निकायको नामलगायतका विवरण संकलन गर्ने जनाइएको छ।