सुर्खेत। आवास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा ल्याउन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको टोली राउटे बस्ती पुगेको छ।
सङ्घीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ। सोही योजना कार्यान्वयनका लागि मन्त्री झाँक्री राउटे बस्ती पुगेकी हुन्।
राउटे अगुवासमक्ष मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने भवन बनाउन सरकार तयार रहेको बताउँदै भनिन्, “तपाईँहरुले चाहेकै जस्तो भवन हामी बनाइदिन्छौँ, जहाँ बसाइँ सर्नुहुन्छ, त्यही भवन बनाउँछौँ।” मन्त्रीको उक्त प्रस्तावमा राउटे अगुवा सितीमिति सहमत भएनन्।
राउटेलाई फकाउन सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोला पुगेको सरकारी टोलीले एउटा जुक्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने’। अन्ततः मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाउए। टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइएको घोषणा गरियो। मन्त्रीसहितले आफ्ना सदस्यसँग मितेरी साइनो गाँसेपछि समुदायमा केहीबेर खुशीयाली छायो।
करिब तीन घण्टा मितेरी साइनोसँगै भलाकुसारीपछि राउटे अगुवा फिरन्ते शैलीका संरचनामा बस्न तयार भए। तीनवटै समुदायका मुखिया, पूर्वमुखियासहितको छलफलमा मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने (ट्रस) प्रकृतिका भवन निर्माणको प्रस्ताव राखिन् भने राउटे अगुवाहरूले अस्थायी भवनमा बस्न तयार हुने वचन दिए।