रसुवा। रसुवागढीमा निर्माणाधीन एकीकृत जाँच चौकीको कार्य तीव्र गतिमा अघि बढेको छ। नाकामा छरिएर रहेका कार्यालयहरूलाई एकै ठाउँमा राख्नका लागि निर्माण थालिएको आइसिपीको निर्माण कार्य हालसम्म ६५ प्रतिशत पूरा भएको छ।
पाँच तलाको निर्माणाधीन भवनको काम अबको एक वर्षमा पूरा हुने बताइएको छ। यस भवनमा भन्सार, अध्यागमन, क्वारेन्टिन र सुरक्षा निकाय रहने छन् । भवन निर्माण पश्चात जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने बताइएको छ।
२०७५ पुसदेखि श्यामसुन्दर रबिना जेभी कन्ट्रक्सन आइसिपीको निर्माण शुरु गरेको थियो। यसअघि कानुनी प्रक्रिया, ट्रान्सफर्मरको व्यवस्थापनमा ढिलाई, निर्माण सामग्रीको अभाव, कामदारको अभाव, नाकामा डाइभर्सन पुल निर्माण लगायतका कारण निर्माण कार्य सुस्त भएपनि अब कामले गति लिएको निर्माण व्यवसायीको भनाइ छ।
भवन निर्माण सम्पन्न गर्न ६१ करोड ९८ लाख लागत लाग्ने अनुमान गरिएको छ।