गोरखा। गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–७ मा भारी हिमपातका कारण विद्यालय भवन भत्किएको छ।
छेकम्पारमा रहेको बुद्ध आधारभूत विद्यालयको भवन भारी हिमपातका कारण भत्किएको प्रधानाध्यापक छिरिङफुञ्जो लामाले बताएका हुन्।
छानामाथि चार फिट भन्दा बाक्लो हिउँ जमेकाले भार धान्न नसकेर भवनको छानो भत्किएको उनले जानकारी दिए।
पाँच कोठे छात्रावास भवन भत्किएको हो। भवन भत्किएपछि छात्रावासमा रहेका खाट र फर्निचरहरूमा क्षति पुगेको छ। विद्यालयमा जाडो बिदा गरिएकाले मानवीय क्षति भने हुन नपाएको बताइएको छ।
३० भन्दा बढी विद्यार्थी बस्दै आएका छात्रावास हिमपात भएपछि बन्द गरिएको थियो। ओढ्ने, ओछ्याउने कपडा र किताबहरू भने विद्यालयका अफिस कोठामा राखिएका कारण सुरक्षित रहेको बताइएको छ।