काठमाडौं। स्याङ्जाको वालिङ–१ त्रियासीमा शीतभण्डार सञ्चालनमा आएको छ। आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण सुरु गरेर चालु आर्थिक वर्षमा सम्पन्न गरी गत मङ्गलबारबाट सञ्चालन गरिएको हो।
केन्द्रीय सहकारी विभागको ६० प्रतिशत र त्रियासी कृषिउपज तथा बजार व्यवस्थापन सहकारी संस्थाको ४० प्रतिशत लागत साझेदारीमा शीतभण्डार निर्माण गरी सञ्चालनमा आएको हो। कूल ५२ मेट्रिक टन क्षमताको उक्त शीत भण्डार रु ९८ लाखको लागतमा निर्माण सम्पन्न भएको हो।
कोभिड–१९ को महामारी र विद्युत्को समस्याका कारणले गर्दा सञ्चालनमा ढिलाइ भएको भएतापनी अहिले सञ्चालनमा आएको छ। यहाँ मौसमी तथा बेमौसमी कृषिउपज विशेष गरी सुन्तला, आलु, अदुवा भण्डारण गरेर केही समयपछि बिक्री गर्न सकिने भएको छ।
शीतभण्डार सञ्चालनका लागि कर्मचारी र प्राविधिकलाई ज्ञान, सीप तथा तालिम दिईएको छ। विगतका वर्षहरुमा आलुको बीउ भण्डारणका लागि भैरहवा लैजाँदा ढुवानी खर्चिलो हुने गरेकोमा अब खर्च पनि कम हुने स्थानीयकले बताए।