काठमाडौं। रौतहटको मर्यादपुरमा साढे तीन करोड रुपैयाँको लागतमा एकीकृत दलित बस्तीको निर्माण सम्पन्न भएको छ। बस्तीमा रहेका व्यक्तिहरुको ६ कठ्ठा जग्गामा मौलापुर नगरपालिकाले ११ कठ्ठा जग्गा खरीद गरी कुल १७ कठ्ठा क्षेत्रफलमा पक्की भवन निर्माण गरेको हो।
उक्त एकीकृत बस्तीको शनिबार पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरे। सो एकीकृत बस्तीमा २५ घर रहेका छन्। चमार जातिको उत्थानका लागि उनीहरुको बसोबासस्थलको सुधार गर्न मौलापुर नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गरिदिएको हो।
यस अघि फुसको झुपडीमा निकै कष्टपूर्ण जीवन बिताइरहेका दलित परिवारको घर निर्माणका लागि कुल ३ करोड ४६ लाख रुपैयाँ खर्च भएको मौलापुर नगरपालिकाकाले जनाएको छ।