काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा निर्माणाधीन आधुनिक किसिमको बसपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ। निर्माण शुरू भएको लगभग १० महिनाको समयअवधिमा बस पार्क निर्माणको काम अहिलेसम्म करिब ४० प्रतिशत सकिएको हो।
विशेषगरी विपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गमा गुड्ने सवारी साधनलाई लक्षित गरी वागमती प्रदेश सरकारले भिमानमा बसपार्क निर्माण गरेको हो। वागमती प्रदेश सरकारको कुल ४ करोड १५ लाख लागतमा बसपार्क निर्माण भइरहेको छ।
वागमती प्रदेशको ७ करोड २२ लाख बजेटमा ठेक्का प्रक्रियामा विकास एन्ड ब्रदर्श आत्रेय श्रीकृष्ण जेभीले ४ करोड १५ लाखमा बसपार्क निर्माण सम्पन्न गर्नेगरी जिम्मा पाएको हो। निर्माणाधीन बसपार्कमा साना ठूला गरी एक सय सवारी साधन अटाउन सक्ने क्षमताको बन्ने जनाइएको छ।
बसपार्क विपी राजमार्ग र मदनभण्डारी राजमार्ग जोडिने ठाउँ कमलामाई नगरपालिका ९ भिमान आजात स्मृति पार्क नजिकै निर्माण भइरहेको छ।