इलाम। निर्माण भएको डेढ वर्ष बित्दा पनि इलाम बसपार्क सञ्चालनमा आउन सकेको छैन। सम्वन्धित निकायले चासो नदेखाउँदा करोडौँ रकम खर्चेर इलाम नगरपालिका ९ शेरामा निर्माण गरिएको बसपार्क अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीय दुखी छन्।
उक्त बसपार्क निर्माणका लागि स्थानीयले १० रोपनी जग्गा निशुल्क उपलब्ध गराएका थिए। विसं २०७३ असार १६ मा ठेक्का सम्झौता भई निर्माण शुरु भएको बसपार्क २०७७ साल जेठमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो।
नगरपालिकाको स्वामित्वमा आएपछि बसपार्क सञ्चालन हुने आशा गरेका नगरवासी एकाएक अर्कै प्रयोजनमा ल्याउन लागेको थाहा पाएपछि चिन्तित बनेका छन्।
सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले बसपार्क निर्माणका लागि प्रथम चरणममा रु एक करोड आठ लाख र दोस्रो चरणमा रु तीन करोड ४ लाख गरी जम्मा रु चार करोड १२ लाख खर्च गरेको जनाइएको छ।
अहिले उक्त स्थानमा नगरपालिकाले ९ नम्बर वडा कार्यालय सञ्चालन गरिरहेको र अब कृषि क्याम्पस सञ्चालनको तयारी गरेको छ।