काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको पानी यसै वर्ष काठमाडौंमा ल्याउने बताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गत बर्खामा भेलले क्षति पुर्याएको मेलम्ची आयोजना मर्मत गरेर यसै वर्ष काठमाडौंमा पानी ल्याउने प्रतिबद्धता जनाएका हुन्।
प्रधानमन्त्री देउवाले आफ्नो सरकार आएपछि आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार आएको समेत दाबी गरेका छन्। उनले आर्थिक क्रियाकलापमा सुधार हुँदै गएको र गत वर्षभन्दा यो वर्ष आर्थिक वृद्धिदर हुने दाबी गरे।
उनले आफ्नो नेतृत्वको सरकारले रासायनिक मल ‘जी टू जी’ मार्फत खरिदका लागि प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । प्रधानमन्त्री देउवाले धान र उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिएको भन्दै किसानलाई यसबाट राहत पुग्ने विश्वास सरकारले लिएको बताए।
उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था चाँडै हुने प्रतिबद्धता जनाए।