काठमाडौं । सरकारले औद्योगिक व्यवसाय ऐन २०७६ संशोधनको तयारी अघि बढाएको छ । पूर्ण कार्यान्वयनमा नआउँदै सरकारले यो ऐन संशोधन गर्न लागेको हो ।
औद्योगिक व्यवसाय ऐन २०४९ तथा २०७३ र त्यसलाई संशोधन तथा एकीकरण गर्दै बनेको ऐन २०७६ बाट पनि मुख्य सरोकारवाला निजी क्षेत्र सन्तुष्ट हुन नसकेपछि सरकारले ऐन संशोधनको तयारी गरेको हो ।
उद्योग मन्त्रालयका अनुसार हाल यसका लागि राय सुझाव संकलनको काम भइरहेको छ । ऐन संशोधनको प्रारम्भिक तयारीस्वरुप मन्त्रालयले हालै सुझाव माग गर्दै सार्वजनिक सूचना नै जारी गरेको छ ।
“औद्योगिक विकास तथा लगानी प्रवद्र्धनका क्षेत्रमा नीतिगत, कार्यविधिगत वा व्यावहारिक सुधारका लागि कुनै सुझाव वा पृष्ठपोषण भए पठाइदिनु हुन उद्यमी, व्यवसायी, अध्येता वा आम नागरिकमा अनुरोध गरिएको छ,” मन्त्रालयको सूचनामा उल्लेख छ । मन्त्रालयका अधिकारीहरुले यसलाई ऐन संशोधनको तयारी भने पनि औपचारिक प्रतिक्रिया भने दिएका छैनन् ।
चाँडो–चाँडो ऐन संशोधनको चर्चाले औद्योगिक वातावरण बिग्रने भन्दै उनीहरुले यसका लागि राजनीतिक निर्णय आवश्यक रहेको बताए ।