काठमाडौं। इजरायलले नेपालीलाई निर्माण क्षेत्रमा पनि रोजगारी दिने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो।
परराष्ट्रमन्त्री डा.नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरबीच परराष्ट्र मन्त्रालयमा भएको वार्तापछि उक्त निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलको केयर गिभरका लागि पहिलो चरणमा १ हजार १ सय ७५ जना छनौट गरिएकोमा हालसम्म ९ सय ९४ कामदारसँग सम्झौता भइसकेको विभागले जनाएको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो । इजरायलमा विदेशी कामदारको भिसा अवधि पाँच वर्षको हुने भए पनि प्रत्येक वर्ष भिसा नवीकरण गर्नुपर्छ ।
इजरायल नेपाली कामदारको आकर्षक श्रम गन्तव्य हो । तर, लामो समयदेखि नेपाली कामदार लैजाने छलफल पछि गत असोज १४ गते नेपाल र इजरायलबीच इजरायलमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।