उदयपुर। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उदयपुरको कटारी नगरपालिका वडा नम्बर ६ र ७ वडा बीच भएर बग्ने बैजनाथ खोलामा अस्थायी पुल निर्माण गरेको छ । विप्लव समूहले संगठन विस्तारका क्रममा अस्थायी पुल निर्माण गरेको हो।
उदयपुर संगठन कमिटीको अगुवाइमा कटारी नगरपालिका वडा नम्बर ६ र ७ मा पर्ने सोमबारेस्थित बैजनाथ खोलामा ह्युमपाइपसहितको कल्भर्ट निर्माण गर्दै स्थानीयलाई सहज बनाइदिएको छ। स्थानीयले खोला तर्न पुल अभाव झेलिरहेका बेला अस्थायी पुल बनाएको बताइएको छ।
स्थानीयलाई विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, बजार आउजाउ गर्न समस्या भएको देखिएपछि खोलामा अस्थायी पुल निर्माण गरेको पार्टीका एक जिल्ला सदस्यले बताए। पार्टीले आफ्नै प्रयासमा स्रोत जुटाएर खोलामा दुई वटा ह्युमपाइप बिछ्याएर दायाँबायाँ बालुवा, गिटी पुरेर कच्ची सडक निर्माण गरेको समेत उनले जानकारी दिए।
खोलाकै ढुंगा, गिटी र बालुवा पुरेर २ सय मिटर लम्बाइ र ५ मिटर चौडाइको कच्ची सडकसहितको कल्भर्ट निर्माण गरिएको छ । त्यसका लागि १५ घन्टा जेसिबीको प्रयोग भएको छ भने २१ नेता कार्यकर्ताले श्रमदान गरेको बताइएको छ । वडा कार्यालय र नगरपालिकालाई पटक– पटक पुल बनाउन आग्रह गर्दा पनि जनप्रतिनिधिले नटेरेपछि पार्टीले नै निर्माणमा अग्रसरता लिएको पार्टीले जनाएको छ।
यसअघि विप्लव समूहको यस पार्टीले उदयपुरका सरकारी कार्यालयदेखि सडकसम्म कुचो लगाएर सरसफाइ अभियान चलाएको थियो।