काठमाडौं। स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधार निर्माणमा जोड दिन सुरु गरिएको छ। बुटवलको दीपनगरमा पुननिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरूपको बनाइएको हो।
सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरमा धमाधम वडा कार्यालय निर्माण र पुनर्निर्माण हुन सुरु गरेका हुन्। वडा–७ को पुनर्निर्माण गरिएको भवनबाट सेवा सुरु भएको छ।
उपमहानगर प्रमुख शिवराज सुवेदीले पुनर्निर्माण भएको भवनको उद्घाटन गर्दै वडाबाट हुने सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरे। टोल स्तरबाट छलफल भएर वडा स्तरका र वडाबाट छलफल भएर नगर स्तरका योजना बनेका र छलफलबाट नगरको सहरी विकास गुरुयोजना तय भएको उनको भनाइ छ।
करिब ३२ लाखमा उक्त वडा भवन पुनर्निर्माण भएर सेवा सुरु गरिएको बताइएको छ। माथिल्लो ट्रससहित दुई तला, आठ कोठा तथा पार्किङसहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनर्निर्माण गरी बनाइएको हो। त्यस्तै, उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ। सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण कर्मचारी आवासलाई हटाएर नयाँ आवासगृह निर्माण गर्न लागिएको हो।
सहरको बीच भागमा र धेरै जनघनत्व रहेको वडाका रूपमा रहेको वडा–८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माण हुनेछ। जम्मा १९ वडा रहेको बुटवल उप–महानगरमा यसअघि वडा–१० को भवन निर्माण भइसकेको छ भने वडा–२ को पुनर्निर्माण हुने तयारीमा छ।