म्याग्दी। कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण सुरु गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध निर्माण गर्न सुरु गरेको हो।
बेनी बजार संरक्षण योजना निर्माणका लागि ठेक्का सम्झौता गरेका रौताह–बिएनबी कन्ट्रक्शनले यसै हप्तादेखि नदी किनारमा पक्की पर्खाल निर्माण गर्न फाउण्डेशन (जग) खन्न सुरु गरेको छ। कालीपुल बसपार्कस्थित कालीगण्डकी किनारमा एक्साभेटरको प्रयोग गरी जग खन्न सुरु गरेको बताइएको छ।
बाइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित रु नौ करोड ४५ लाखमा पुस तेस्रो साता ठेक्का सम्झौता भएको हो। योजनाको कूल लागत रु १४ करोड अनुमान गरिएको छ।
कालीपुलमा ८० र सङ्गमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी किनारमा करिब १६८ मिटर आरसिसी तथा मङ्गलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण गरिनेछ। चार मिटर फराकिलो जगदेखि दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिसी पर्खाल बनाउन लागिएको हो।