काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएपछि पेट्रोलियम पदार्थको मूल्य इतिहासकै उच्च भएको हो।
डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ ।
मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर रु १२५ तथा पेट्रोल प्रतिलिटर रु १४२ पुगेको छ । पेट्रोलको मूल्य अहिलेसम्मकै बढी हो । यसअघि २०७० सालमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु १४० पुगेको थियो । एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पुर्याएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पुर्याइएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि अझै मासिक रु साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब रु दुई अर्ब २३ करोड घाटा रहेको निगमको भनाइ छ । मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा पेट्रोलमा रु ४३ करोड, डिजेलमा रु एक अर्ब एक करोड र एलपी ग्यासमा करिब रु एक अर्ब घाटा हुने निगमको प्रक्षेपण छ ।
निगमलाई मट्टितेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ।मूल्य समायोजन गरे पनि इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न ऋण लिनुपर्ने बाध्यता रहेको निगमको भनाइ छ।