काठमाण्डौं। सङ्घीय सरकारको लगानीमा राइनास बहुप्राविधिक शिक्षालयको भवन निर्माण अघि बढेको छ। लमजुङको राइनास नगरपालिका–८ कुसुण्डेचौरमा सरकारको चार करोड ३३ लाखमा ३२ कोठे भवन निर्माण हुन लागेको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाममा रहेको २३ रोपनी जग्गा, स्थानीयबाट उपलब्ध आठ रोपनी, राइनास नगरपालिकाले दिएको दुई रोपनी र वीरभक्ति माध्यमिक विद्यालयले भोगचलनका लागि दिएको २३ रोपनी गरी ५६ रोपनी जग्गामा भवनलगायत संरचना निर्माण हुन लागेको छ। सिटिइभिटीको आङ्गिक शिक्षालयका रुपमा रहेको यस बहुप्राविधिक शिक्षालय भवन निर्माण पृथ्वीबेँसी जेभी काठमाडौँले जिम्मा लिएको छ।
राइनास प्राविधिक शिक्षालयले विसंं. २०७७ असोज १५ गतेदेखि प्रशिक्षण सुरु गरेको थियो। बहुप्राविधिक शिक्षालयको भवन निर्माणपछि प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहज हुने भएको छ। प्रतिविद्यार्थीले ५० हजारमा अध्ययन गर्न पाउने भएका छन्।
प्राविधिक जनशक्ति निर्माण गर्ने र आयआर्जनमा जोड्ने उद्देश्यसहित पठनपाठन भइरहेको उक्त शिक्षालयले जनाएको छ। यतिबेला भवन अभावमा वीरभक्ति माध्यमिक विद्यालयको भवनमा राखेर अध्ययन गराउँदै आएकामा आफ्नै भवन निर्माणपश्चात् सहज हुने बताइएको छ।
शिक्षालयले थप व्यवस्थापनका लागि स्थानीय महादेव सामुदायिक वनसँग भोगाधिकारका लागि ८० रोपनी जग्गाको सम्झौता गरेको छ। यसको प्रक्रिया मन्त्रालयमा पुगेको बताइएको छ। हाल नर्सरी, ग्रिनहाउस, टनेलको व्यवस्थापन गरेकाले विद्यार्थीले आफैँ काम गरेर कमाउन सक्ने उक्त शिक्षालयले जनाएको छ।