कैलाली। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज कैलालीमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। अनेरास्ववियू कैलाली जिल्ला कमिटीले आज कैलालीमा सरकारी गाडी चल्न नदिने भएको हो।
विरोध कार्यक्रमको अवज्ञा गरेर सवारी चलाएमा गाडीको चाबी नियन्त्रणमा लिने अनेरास्ववियुले चेतावनी समेत दिएको छ। मूल्यवृद्धि फिर्ताको माग राख्दै ज्ञापन पत्र बुझाउनेदेखि शान्तिपूर्ण र्यालीको आयोजना गर्दा पनि सरकारले चासो नदिएपछि यस किसिमको उपाय अपनाएको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले बताए।
मूल्यवृद्धि फिर्ता नहुँदासम्म चरणबद्ध आन्दोलन जारी रहने उनीहरुको भनाइ छ। मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले देशभर आन्दोलन गरिरहेको छ।