सुनसरी। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले सीमानामा सडक निर्माण गर्दा समेत सरकार बोल्न नसकेको आरोप लगाएका छन्।
एमाले सुनसरीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भारतले सीमा मिचेर सडक बनाउँदा पनि गठबन्धनको सरकार मौन रहेको आरोप लगाएका हुन्।
उनले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरामा सडक निर्माण गर्दा पाँचदलीय गठबन्धनको सरकार बोल्न सकेको छैन्। यो स्वार्थको गठबन्धनलाई अब जनताले आगामी निर्वाचनबाट देखाउछन्। त्यसैले हामीलाई नयाँ जनादेश चाहिएको छ।’
पोखरेलले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले रेल र पानी जहाज लगायतका ठूला आयोजना निर्माण बारे योजना सुनाउँदा मजाक बनाएको गुनासो समेत गरे।
उनले भारतले नाकाबन्दी गर्दा ओलीले डटेर सामाना गरेको दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गर्ने बेलामा संविधान संशोधन समेत गराएको बताए। उनले राष्ट्रियताका विषयमा बोल्ने, आवाज उठाउने र काम गर्ने एमाले मात्र भएको दाबी समेत गरेका छन्।