तनहुँ। तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा शीतभण्डार निर्माण गर्न शुरु गरिएको छ। कृषिउपज सामग्री भण्डारण गरी उपयुक्त समयमा बिक्री वितरण गर्नका लागि तनहुँका स्थानीय तहले शीतभण्डार निर्माण गर्न शुरु गरेका हुन्।
संघीय सरकार र घिरिङ गाउँपालिकाको साझेदारी लागतमा घिरिङ गाउँपालिका–१ अत्रौलीमा शीतभण्डार निर्माण गर्न शुरु गरिएको छ।
२ करोड १० लाख लागतमा निर्माण हुने शीतभण्डार २०८० मंसीर १४ गतेभित्र सम्पन्न गर्नुपर्ने गरीआरएनसिएस कश्याप जेभीसँग सम्झौता भएको छ।
व्यास नगरपालिकाले पनि शीतभण्डार निर्माण थालेको छ। व्यास नगरपालिका–११ मा तीन करोडको लागतमा शीतभण्डार निर्माण भइरहेको छ।
शुक्लागण्डकी नगरपालिकाले पनि गत वैशाखदेखि शीतभण्डार निर्माण गरिरहेको छ । शुक्लागण्डकी नगरपालिका–८ सङ्गम टोलमा शीतभण्डार निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
लालिमस्थित सिर्जनशील महिला समाजले संरक्षण गरेको सार्वजनिक जग्गामा शीतभण्डार निर्माण भइरहेको छ। नगर क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो ।
चालू आर्थिक वर्षभित्रै शीतभण्डारको काम सम्पन्न हुनेछ । नगरमा उत्पादन हुने आलु, अदुवालगायतका वस्तुलाई यसवर्ष भण्डारण गर्ने व्यवस्था मिलाइने बताइएको छ।