काठमाडौं। नारायणहिटी दरबार सङ्ग्रहालयपरिसरमा रहेको बगैँचा पुनर्निर्माण हुने भएको छ। बगैँचा मासेर रेष्टुरेन्ट सञ्चालन गर्ने निर्णय खारेज भएसँगै बगैँचा पुनर्जीवित हुन लागेको हो।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र‚ व्यवस्थापन तथा समन्वय सञ्चालक समितिले तत्कालीन राजा महेन्द्रले निर्माण गरेको बगैँचा पुरानै स्वरूपमा निर्माण गर्ने बताएको छ।
बगैँचालाई थप आकर्षक बनाउने विषयमा छलफल भइरहेको बताइएको छ। “त्यत्तिकै छोड्ने हो भने फेरि बेवारिसे हुन्छ, झारपात उम्रिन थाल्छ,” त्यही भएकाले बगैँचालाई पुनर्निर्माण गर्ने तयारी भएको जनाइएको छ। नारायणहिटी परिसरको बगैँचा र बङ्करसमेत मासेर बतास समूहलाई रेस्टुरेन्ट बनाउन दिइएको समाचारपछि बगैँचा र बङ्करप्रति आमचासो बढेको छ। त्यही भएर दरबारभित्रको बगैँचा र बङ्करको पुनर्निर्माणले थप आकर्षित हुने अपेक्षा सङ्ग्रहालयको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दरबारभित्रको ऐतिहासिक बगैँचा र बङ्कर मासेर रेस्टुरेन्ट निर्माणकार्यमा रोक लगाई निर्माणाधीन संरचना तत्काल भत्काउन निर्देशन दिएका थिए।