काठमाडौैं। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विषयमा संसदीय समितिले छानबिन गर्ने भएको छ।
संघीय संसदअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगलबार सिंहदरबारमा बसेकाे बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे छानबिन गर्ने निर्णय गरेको हो ।
बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । समितिको सदस्यमा सांसदद्वय खेम लोहनी र लक्ष्मी परियार छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन उपसमिति गठन गर्नुपरेको समितिले जनाएको छ।
बैठकमा समितिका सदस्यहरूले आयातीत पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारसँग माग गरेका थिए ।