झापा। जथाभावी इँटाभट्टा सञ्चालनको अनुमति दिएको भन्दै कचनकवल गाउँपालिकाका स्थानीय विरोधमा उत्रिएका छन् । संघर्ष समिति नै गठन गरेर स्थानीय इँटाभट्टा सञ्चालनको विरोधमा उत्रिएका हुन्।
‘धान सुपर जोन’ लागू गरेको क्षेत्रमा जथाभावी इँटाभट्टा सञ्चालनको अनुमति दिएको भन्दै स्थानीयले बुधबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र श्रम तथा रोजगार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले बर्सेनि खुल्ने इँटाभट्टाले गाउँमा प्रदूषण बढाएको, जमिनको उर्वरा शक्तिमा ह्रास आएको, बाटो तथा कल्भर्ट भत्काएको, खेतीयोग्य जमिनको बीचभागमा ठूल्ठूला खाडल खनेको, बालश्रमिक प्रयोग गरेकोलगायतका आरोप लगाएका छन् ।
समितिले प्रचलित कानुनविपरीत हुनेगरी बस्तीनजिकै इँटाभट्टा सञ्चालन बताएको छ। खेतीयोग्य जमिन मासिने गरी इँटाभट्टा सञ्चालनको अनुमति नदिन पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत हाम्रो माग सुनुवाइ उनीहरुको गुनासो छ। बुधबार इँटाभट्टा प्रभावित ८ सय ७८ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र सम्बन्धित कार्यालयलाई बुझाएका छन्। उनीहरुले माग फेरि पनि सुनुवाइ नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।
इँटाभट्टा व्यवसायप्रति आफूहरूको कुनै आपत्ति नभएको तर इँटाभट्टाले सामाजिक तथा कानुनी रूपमा गर्नुपर्ने न्यूनतम जिम्मेवारीहरूसमेत पूरा नगर्दा आन्दोलित हुनुपरेको उनीहरुको भनाइ छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तत्काल इँटा उद्योग सञ्चालकहरूलाई बोलाएर छलफल गर्ने आश्वासन दिएका छन् ।