काठमाडौं। काठमाडौंको त्रिपुरेश्वर चोकमा आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण भएको छ। काठमाडौं महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधासम्पन्न शौचालयको निर्माण गरेको हो।
पहिले ट्रली बसको टिकट काउण्टर रहेको र पछिल्लो समय जीर्ण बनेको ठाउँमा शौचालय निर्माण गरिएको छ।
शौचालयको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन्। उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख शाक्यले बढी भिडभाड हुने स्थान, पार्कलगायतका ठाउँमा आधुनिक शौचालय निर्माणलाई काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए।
उनले भने, ‘यदि तपाईँहरु त्रिपुरेश्वरको बाटो हुँदै ओहोरदोहोर गर्दै हुनुहुन्छ र शौचको आवश्यक पर्यो भने अब तपाईँले स्वचालित प्रविधिमा आधारित सुविधा भएको शौचालयको प्रयोग ढुक्कसँग गर्नुसक्नुहुनेछ। ‘हेर्दा सफा देखिने शौचालयमा महिनावरी भएका महिलाका लागि स्यानिटरी प्याड प्रयोग गर्न र त्यसको व्यवस्थापन गर्न मिल्ने डिस्पोजल मेसिनको समेत यहाँ व्यवस्था गरिएको छ।’
उनले वातावरणीय र जनवास्थ्यको पक्षलाई समेत ध्यानमा राखेर महानगरपालिकाले ३२ वटै वडामा यस्ता शौचालय निर्माण गर्दै जाने नीति लिएको जानकारी दिए ।