धनगढी। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले विकास निर्माणका कार्यमा तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन्।
नेपाल पत्रकार महासङ्घ बाजुराद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री सोडारीले विकास निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन्।
उनले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन नसकेको बताएका छन्। बाजुराको पर्यटकीय र कृषि क्षेत्रमा सम्भावना थुप्रै रहेकाले प्रवद्र्धन गर्नका लागि प्रदेश सरकार तयार रहेको मन्त्री सोडारीको भनाइ छ ।
प्रदेश सरकारका गौरवका आयोजना मार्तडी–कोल्टी, मार्तडी–घटमुना, बल्दे आटिचौर लगायतका सडक तत्काल निर्माण गरी सञ्चालन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । उनले भने, “केन्द्रको सरकारको गठबन्धनले प्रदेश सरकारमा कुनै असर गर्दैन । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा समाजवादी ठूलो दल भएकाले कांग्रेससँग कुनै सम्बन्ध छैन ।”