गलकोट। बाग्लुङ नगरपालिकाले बाङ्गेचौरको खेलमैदानलाई स्तरोन्नत गरेर रङ्गशाला बनाउने योजनालाई अघि सारेको छ। उक्त रङ्गशाला पहिलेदेखि नै निर्माण गर्न खोजिएको भएता पनि बजेटको अभावको कारणले गर्दा रोकिएको थियो। यस आर्थिक वर्षमा सङघीय सरकारको बजेट साझेदारीमा नगरपालिकाले उक्त रङ्गशालाको निर्माण कार्य थाल्ने भएको छ। नगरपालिकाले घाँसे मैदानको रुपमा रहेको खेलमैदानलाई रङ्गशालामा परिणत गर्ने हेतुले आर्थिक वर्ष ७८/७९ मा ४ करोड लगानी गर्ने भएको छ। आर्थिक वर्ष ७८/७९ को असार मसान्तसम्म काम सक्ने गरी नगरपालिका र सङ्घिय सरकारको ८ करोड भन्दा बढी संयुक्त लगानीमा योजना बनाइएको हो।
घाँसे मैदानको रुपमा रहेको खेल मैदानमा संरचनाको अभाव रहेको छ। उक्त क्षेत्रमा ८ करोड २२ लाख लगानी गरेपछि घाँसे मैदान आधारभुत रङ्गशालामा परिणत हुने कुरा नगरप्रमुखले जनाएका छन्। पछिल्लो समयमा नगरपालिकाले खेलकुद क्षेत्रमा लगानी गर्दै आएको छ। २०८० सम्ममा ५ हजार दर्शकले एकैसाथ खेल हेर्न पाउने गरी आधरभुत रङ्गशाला निर्माण गर्ने नगरपालिकाको उद्देश्य रहेको छ। तीन वर्ष अगाडी तत्कालिन खेलकुद विकास अध्यक्षको नेतृत्वमा उक्त रङ्गशालाको डीपीआर तयार गरको भएता पनि रङ्गशालामा अरु पनि संरचना थपिएको कारणले उल्लेख भएको लागतले नपुग्ने भएको कारणले योजना स्थगित रहेको थियो।
उल्लेख भएको डीपीआरमा लाग्ने लागत ११ करोड भएको भए पनि अहिले ८ करोडको ठेक्का मार्फत गराइने रङ्गशालाको संरचना एक चौथाई मात्र हुनेछ। अहिले खेल मैदानको पुर्वतर्फको प्याराफिट निर्माण गर्ने, खेल मैदानमा दुबो लगाउने र सामान्य मापदण्ड अनुसार रङ्गशाला निर्माण गरीने छ किनभने पुर्ण रुपमा सुविधा सम्पन्न रङ्गशाला निर्माणको लागि लगभग ३० करोड लाग्ने अनुमान गरीएको हुनाले पश्चिम तर्फको संरचना पछि बजेट थप भएमा नयाँ ठेक्का लगाएर पुन संरचना निर्माण गर्ने उद्देश्य रहेको छ। सम्पुर्ण सुविधा सम्पन्न संरचना निर्माण भएपछि खेलकुदको गतिविधि गर्न पनि सहज हुनेछ। राष्ट्रिय गौरवको रुपमा रहेको उक्त रङ्गशाला आयोजना पुष्पलाल लोकमार्गसंग जोडिएको हुनाले सडकलाई भुमिगत गरेर पश्चिम क्षेत्रको संरचना निर्माण गरिनेछ।