काठमाडौं। साट्टी-भजनी-धनगढी खण्डको कन्द्रा खोला पुलको निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीलाई स्पष्टीकरण सोधिएको छ। २ वर्षमा सक्नुपर्ने काम १० वर्षमा पनि पूरा नभएपछि हुलाकी राजमार्ग आयोजनाले ठेक्का तोड्नु अघि निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेको हो।
आयोजनाले सोमबार सूचना जारी गर्दै पटक पटक लिखित तथा मौखिक आग्रह गर्दा पनि म्याद भित्र काम पूरा गर्नेतर्फ चासो नदेखाएको भन्दै लामा साल्पा बिरुवा शेर्पा जेभीसँग ठेक्का किन नतोड्ने भन्दै स्पष्टीकरण मागेको हो।
२०६८ मा दुई वर्षमा निर्माण पूरा गर्नेगरी उक्त कम्पनीसँग सम्झौता भएको थियो। पटक पटक म्याद थप गर्दा पनि १० वर्षसम्म काम नभएपछि अब पनि ढिला गरे ठेक्का तोडेर अर्कोलाई दिने तयारी आयोजनाको छ।
सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौता बमोजिम ठेक्का किन नतोड्ने कारणको स्पष्टीकरण सहित अधिकारिक व्यक्ति आयोजनामा ७ दिनभित्र उपस्थिति हुन निर्देशन दिइएको छ।
कम्पनीले उपस्थिति नजनाए अन्तिम ताकेता मानेर ठेक्का सम्झौताका सर्तहरुरद्द गर्ने चेतावनी पनि सूचनामा छ।