काठमाडौं। होटल संघ नेपालले तत्काल होटल याक एण्ड यतीको सेवा बन्द नगरिदिन आग्रह गरेको छ। सोमबार संघको अध्यक्षसहितको टोलीले पर्यटनमन्त्री प्रेम आलेलाई भेटेर तत्काल होटल बन्द नगरिदिन आग्रह गरेको हो।
संघले हालको परिस्थितिमा होटल सेवा बन्द गराउने निर्णयले मुलुकको अन्य पर्यटन क्षेत्रसँगै रोजगारमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्न आउने जनाएको छ। संघले कानुनी प्रावधानलाई मध्यनजर गर्दै सहजीकरण गरिदिन मन्त्री समक्ष आग्रह गरेको जनाएको छ।
मन्त्री आलेले भने होटल सेवा निरन्तर गर्न दिने नदिने भन्दा पनि आफूले कानुन बमोजिम कारवाही अगाडि बढाएको बताएका छन्।
रोयल्टी र नवीकरण दस्तुर नियमित रुपमा उठाउने संयन्त्र नभएका कारण यो समस्या आइपरेको होटल व्यवसायीको भनाइ छ। ठूला होटल यसरी बन्द गर्ने निर्णयले अन्तर्राष्ट्रिय बजारमा कस्तो सन्देश जाला? भन्ने प्रश्न समेत उनीहरुले राखेका छन्।