रसुवा। रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। रसुवामा निर्माणाधीन १११ मेगावाटको आयोजनाको ८५ प्रतिशत निर्माण पूरा भएको हो।
रसुवागढी हाइड्रो पावर कम्पनीले गरिरहेको आयोजनामा अहिले हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ ।
इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी भोइथ हाइड्रोले विद्युतगृहमा इलेकट्रोमेकानिकल उपकरण जडान गरिरहेको छ । हाइड्रोमेकानिकलतर्फको उपकरण जडान कार्य पनि भइरहेको छ । सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम आगामी चैतभित्र सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।
यो आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने तालिका छ । आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि २०७२ सालको विनासकारी भुकम्प, नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिदै गएको कम्पनीले जनाएको छ ।
कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट २०७९ असारभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याज बाहेक १६ अर्ब ७४ करोड ९३ लाख रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।