तनहुँ। ऋषिङ गाउँपालिका–१ स्थित झापुरटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज बनाउने भएको छ । सुख्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाले योगदान दिने भएको हो।
आयोजनाका लागि सेती नदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्क्रिट बाँध निर्माण गरिने भएको छ। जलाशययुक्त यस आयोजनालाई बढी विद्युत् माग हुने हिउँदयाममा समेत दैनिक करिब ५ घण्टा पूर्ण क्षमता (१४० मेगावाट) मा चलाउन सकिने र भारतबाट विद्युत् आयात घटाउन आयोजनाको महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको आयोजनाले जनाएको छ।
विद्युत् उत्पादन शुरु भएको पहिलो दश वर्षसम्म वार्षिक औषत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने लक्ष्य रहेको छ ।
‘आयोजनाको जलाशय सात दशमलव २६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिने छ ।
विद्युत्गृहमा ७०र७० मेगावाटका दुईवटा फान्सिस टर्वाइन रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् २२० किलोभोल्टको डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहित गरिने आयोजनाले जनाएको छ। आयोजनाको विद्युत्गृहदेखि चितवनको भरतपुरस्थित सवस्टेशनसम्म करिब ३७ किलोमिटर प्रसारण लाइनका लागि ९४ वटा टावर निर्माण गरिनेछ ।