कोहलपुर। कोहलपुरमा निर्माणाधीन १० तले भ्यूटावरको काम ७२ प्रतिशत पूरा भएको छ। कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माणाधीन लिफ्ट सहितको सुविधा सम्पन्न भ्यूटावरको काम तीव्र गतिमा भइरहेको हो।
भ्युटावरको बाँकी काम पनि चाँडै पूरा हुने कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए । समग्र पश्चिम नेपाल मात्र नभई भारतीय नागरिकलाई समेत आकर्षित गर्नेगरी नगरपालिकाको गौरवको योजनामा पारेर अत्याधुनिक भ्युटावर निर्माण कार्य भइरहेको छ।
१० तलाको उचाइसहित निर्माण भएको टावरमा समयको जानकारी गराउने उद्देश्यले ठूलो घडी राखिने बताउँदै रावतले लिफ्टबाट माथि जान सकिने र यहाँबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने बताए । अधिकांश निर्माण पूरा भइसकेको र लिफ्ट जडानसहित रंगरोगन र सजावटको काम मात्र हुन बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । टावर निर्माणका लागि ५ करोड ८८ लाख रुपैयाँ लागत लाग्ने बताइएको छ।