रोल्पा। रोल्पामा पुल निर्माण कार्य सम्झौता मिति भन्दाअघि सम्पन्न भएको छ। लिबाङसँग उत्तरी क्षेत्रका ह्वामा, कुरेली हुँदै थबाङलाई जोड्ने धाङ्सीखोला पक्की पुलको निर्माण कार्य सम्झौताको निर्धारित अवधिभन्दा ८ महिना अघि नै सम्पन्न गरिएको हो।
२०७९ असोज २४ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी एशियाटिक–राज जेभीसँग सरकारले २०७७ असोज २५ मा सम्झौता गरेको थियो। निर्माण व्यवसायी राजवीर घर्तीमगरले पुलको निर्माण कार्य सरकारसँग गरिएको सम्झौता अवधिभन्दा अघि नै निर्माण गरी हस्तान्तरण गरेका छन्।
पुलको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले निर्माण व्यवसायीलाई प्रसंशा पत्र समेत प्रदान गरे । उनले सम्झौता अवधि भन्दा अघि नै पक्की पुल निर्माण गरेकाले निर्माण व्यवसायी घर्तीमगरलाई धन्यवाद र प्रसंशा पत्र प्रदान गर्न पाउनु खुसीकै कुरा भएको बताएका छन्।
६४.९५ मिटर लम्बाई र ८.४ मिटर चौडाई रहेको उक्त पुलमा प्रदेश सरकारको लगानी ५ करोड ६१ लाख ४९ हजार ५ सय ४९ रुपैयाँ भएको छ ।