काठमाडौं। साझा यातायातले आगामी चैतमा ३ ओटा विद्युतीय बस नेपाल ल्याउने भएको छ। चीनको नयान्जिङस्थित सीएचटीसीमा निर्माण भइरहेका ४० वटा बसमध्ये ३ वटा बस यही चैतभित्रमा नेपाल आइपुग्ने भएको हो।
हाल कारखानामा बस उत्पादनको काम भइरहेको यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए। प्रारम्भिक चरणमा भित्रिने ३ बसलाई काठमाडौंको सडकमा तथा रुटमा प्रशिक्षण गर्ने साझाको योजना छ । ती बसहरूको परीक्षण सफल भएपछि केही महिनामै अन्य ३७ ओटा बस पनि भित्र्याउने साझाको तयारी छ ।
चीनमा बनिरहेका यी बसहरूको मूल्य १ करोड ५० लाख रुपैयाँभन्दा माथि रहेको साझाले जनाएको छ । साझाले गत वर्ष चैतमा ४० वटा विद्युतीय बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।
साझाले ल्याउन लागेका विद्युतीय बस २६ सिट क्षमतासहित अपांगमैत्री पनि हुनेछन् । ती बस एकपटक फुल चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिएर २०० किलोमिटर गुड्न सक्छन् ।