काठमाडौं। भारत सरकारले नेपालमा ठूला जलविद्युत् आयोजनामा थप लगानीका लागि प्रस्ताव गरेको छ। नेपाल(भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठकको पहिलो दिन भएको सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठकमा भारतले ठूला आयोजना साझोदारीमा अघि बढाउन प्रस्ताव गरेको हो।
भारतले आयोजनाहरुको किटान नगरेपनि दुईपक्षीय छलफलमार्फत सम्भाव्य आयोजनामा दुईदेशको संयुक्त लगानी वा आफ्नो एकल लगानीमा नेपालमा थप ठूला आयोजनाहरु बनाउन चाहेको बताएको छ।
अहिलेसम्म नेपाल भारतको संयुक्त लगानीमा आयोजना बनेको छैन । अरुण तेस्रो र तल्लो अरुणबाहेक भारतीय कम्पनी जीएमआरले माथिल्लो कर्णाली आयोजना लिए पनि लगानी जुटाउन सकेको छैन ।
बैठकमा नेपालका उत्पादित विद्युतलाई सहजै भारतीय बजारमा प्रवेश दिनेबारे पनि छलफल भएको छ ।
नेपाल विद्युत प्राधिकरणले थप ८१४ मेगावाट बराबरका आयोजनाको बिजुलीलाई पनि बजारमा प्रवेश दिन प्रस्ताव गरेको छ । तर, भारत सरकार अझै तयार नभएकाले यस विषयमा बैठमा नेपालले कुरा उठाएको छ । भारतीय ऊर्जा अधिकारीहरुले प्रक्रिया सरल गरेर यो विषय टुंगो लगाउने जवाफ दिएको बताइएको छ।